२९ चैत, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाकी १८ बर्षीया
सविता तामांग (नाम परिवर्तन) विगत २ बर्ष अघि परिवारको
आर्थीक अवस्था कमजोेर भएको कारण कक्षा ८ मा पढ्दा पढ्दै
स्कूल छाडेर काठमाडौं आइन् ।
काठमाडौंमा २-३ महिना काम गरेपछि पुनः घर फर्किए पनि
उनी फेरि कामकै खोजीमा काठमाडौंमा भौतारिएका
बेला मामाले नेपालगन्जका एक व्यक्तिको घरमा घरेलु
कामदारको जागर लगाइदिए ।
नेपालगञ्जका देवेशजंग शाहको घरमा मासिक १५ सय रुपैयाँ
पाउने गरी उनले काम गरे पनि उनलाई आफ्नो घर जाने आउने र
सम्पर्क गर्ने समेत अधिकारबाट बन्चित गरियो ।
एक वर्षभन्दा लामो समय काम गरेकी सवितामाथि पछिल्लो
समय गालिगलौज, कुटपिट र दुर्व्यवहारका घटना हुन थालेपछि
उनले काम गरेको पैसा मागेर घर फर्किन खोजिन् ।
तर घर मालिक्नी सुजन शाहीले काम गरेको पैसा नदिने भन्दै
अहिलेसम्म खाएको र लुगा किनेर दिएको पैसा समेत जोडेर
तीन महिना निःशुल्क काम गर्नुपर्ने भन्दै उनलाई अघोषित
बन्दी बनाइन् ।
घरभाडा समेत नभएपछि पुन: त्यहिँ काम गर्न बाध्य भएकी
सबितालाई साथीसँग कुरा गरेको निहुमा कुटपिट समेत
भएपछि उनले साथीको मोबाइलबाट आफू जोखिममा रहेको
भन्दै गाउँमा उद्दारका लागि खबर गरिन् ।
उनकी साथि शक्ति समुहद्वारा सञ्चालित किशोरी समुहमा
आवद्ध भएकाले समुहमा छलफल पश्चात शक्ति समुहको
अगुवाईमा प्रहरीले उनलाई कार्यथलोबाटै उद्दार गरेको शक्ति
समूहले जनाएको छ ।
प्रहरीले उनको ज्याला बापतको १३ हजार रकम समेत उनलाई
दिलाएको छ भने पारिवारिक पुनर्मिलनको लागि
सवितालाई शक्ति समूहको जिम्मा लगाईएको छ ।
पीडक बिरुद्ध हालसम्म कुनै कानुनी कारवाहीको प्रकृया भने
चालिएको छैन । आपसी सल्लाहपछि यसबारे पहल गर्ने शक्ति
समूहले जनाएको छ ।
हाल शक्ति समूहको संरक्षणमा रहेकी उनलाई तत्कालै
परिवारमा पुनर्मिलन गराइनेछ । लामो समयपछि परिवारको
सम्पर्कमा जान पाउँदा उत्साहित भएकी सबिता अब पढाइ
निरन्तर गर्न चाहिन्छन् ।
घरमा चार दिदी बहिनीमध्येकी जेठी सबितालाई पढाउन
उनका बुबा उत्साही छैनन् । ‘पढेर पोइल गइहाल्छे भन्नुहुन्छ बुबा’
सबिता भन्छिन् ‘तर पोइल जान चाहान्न, पढेर डाक्टर बन्छु र
बहिनीहरुलाई पनि पढाउछु ।’
सबिताको पढ्ने चाहनामा उनको घरको गरिबीनै बाधक
बनेको छ । तर पनि उनी अब जसरी पनि पढ्ने सपना पूरा गर्ने
अठोटमा छिन् ।
