हरियो डाँडा माथी हलो जोत्ने साथीका गायक जनकवि केशरी धर्मराज थापाको निधन भएको छ। राजधानीमा उपचार गराइरहेका थापाको आज बिहान निधन भएको हो। ९२ वर्षको उमेरमा राजधानीको स्वयम्भुस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
पोखराको बाटुलेचौरमा विक्रम सम्वत १९८१ साल साउनमा जन्मएका थापाले प्रजातन्त्रको मिर्मिरे(२००७) मा प्रजातन्त्रको काफल, पाक्यो बरी लै, हरियोडाँडा माथि हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरा, आज मादल बजेको किन ? गाउँबेसी दुनियाँ बिउँझाउन, धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौंला, घर सम्झी रोएको होला, डाँडाकाटी गएको नेपाली, जस्ता गीत गाउँदै कुनाकन्दरामा पुगेर नेपालीलाई बिउँझाएका थिए।
२०१३ सालमा राजा महेन्द्रबाट जनकवि केसरीको उपाधि पाएका थापा आम रुपमा जनगायकका रुपमा चिनिन्छन्। २००८ सालमा कर्मचारीलाइ उक्साएर हड्ताल गरेबापत गोर्खापत्रको मुखियाबाट खोसुवामा परेको थापा डाक्टर केआइ.
सिंहको बिद्रोहमा समर्थन गरेकोमा ३० दिन जेलपरेपछि त्यसपछिको एक वर्ष भारतका देहरादुन, भाक्सु, आसाम, दार्जिलिङ, सिक्किम लगायतका ठाउँमा लोक भाका गुञ्जाएका थिए। त्यही बेला नेपालीले माया मार्यो बरी लै, झमझम परेली, हाम्रो तेन्जीङ शेर्पाले, धुरुधुरु नरोऊ आमा, लगायतका गीतहरु
कलकत्ताको एचएमभी कम्पनीमा रेकर्ड गराएका थिए।
नेपाली लोकगीत, लोक संस्कृति र लोकजीवनको अध्ययन र प्रचार प्रसारमा जीवन विताएका थापाले गन्र्धव र सारङ्गीलाई संसारसामु चिनाएका थिए। मदन पुरष्कार गुठीले २०२५
सालको साहित्यतर्फको मदन पुरष्कार धर्मराज थापाको ‘मालती मङ्गले’ काव्यलाइ प्रदान गरेको थियो भने २०५७ सालमा गुठीले
जगदम्बा श्री पुरष्कार ‘जनकवि केसरी’ धर्मराज थापालाइ प्रदान गरेको थियो। थापाका १ सय भन्दा बढि गीत रेकर्ड भएका छन् भने थापाका गीत, कविता, लेख, साहित्य, संस्कृति, यात्रा संस्मरण लगायत २९ वटा कृति प्रकाशित छन्।