अध्ययन भन्छ, 'समयसंगै घट्दै जान्छ मानब शरिरमा कोरोना एन्टिबडी


१२ कात्तिक, काठमाडौं । बेलायतमा गरिएको एक अध्ययनमा कोरोना भाइरस (कोभिड-१९)विरुद्ध शरीरमा विकास भएको प्रतिरोधी क्षमता -एन्टिबडी) समयसँगै घट्दै जाने गरेको पाइएको छ ।


शोधकर्ताहरुले बेलायतभरका तीन लाख ६५ हजारभन्दा धेरै मानिसमा गरिएको अनुसन्धानमा तीन महिनाको अवधिमा २६ प्रतिशतभन्दा धेरैको एन्टिबडीमा कमी आएको पाइएको हो ।


बेलायतमा कोरोनाको पहिलो लहर उत्कर्षमा पुगेपछिको तीन महिनामा यो सर्वेक्षण गरिएको थियो । सर्वेक्षणको क्रममा तीनपटक सहभागीको एन्टिबडी परीक्षण गरिएको थियो । यो सर्वेक्षणको प्रतिवेदन भने सार्वजनिक हुन बाँकी छ ।


यो अध्ययन सोमबार इम्पेरिकल कलेज लण्डन र आईपीएसओएसले प्रकाशित गरेको हो ।


सुरुआती अध्ययनमा गत जुनमा सहभागीमध्ये ६ प्रतिशतमा आईजी एन्टिबडी पाइएको थियो भने सेप्टेम्बरसम्म आइपुग्दा केवल चार दशमलव ४ प्रतिशतमा उक्त एन्टिबडी देखिएको थियो ।


स्वास्थ्यकर्मीहरुमा पनि यो नतिजा समान थियो । यद्यपि अन्य किसिमका एन्टिबडीको आयु आईजी एन्टिबडीको तुलनामा लामो हुन सक्ने शोधकर्ताहरुले बताएका छन् ।


अध्ययनको क्रममा विना लक्षणका संक्रमितको शरीरको एन्टिबडी लक्षण देखिएका संक्रमितको तुलनामा छिटो घट्ने गरेको पाइएको थियो ।


त्यस्तै युवाहरुमा ७५ वर्ष नाघेका मानिसहरुको तुलनामा लामो समयसम्म एन्टिबडी बाँकी रहेको पाइएको थियो ।


अझैसम्म पनि कोरोनाबारे धेरै कुरा थाहा नभएको कारण पुनः संक्रमणबारे थप जानकारीको लागि थप अध्ययनहरु आवश्यक रहेको अध्ययनमा देखिएको छ ।


यद्यपि यो अध्ययन फरक-फरक मानिसमा गरिएको थियो । त्यसैले यो अध्ययनले पूर्णरुपमा सही नतिजा भने दिन सक्दैन ।


स्रोत : सीएनएन

Post a Comment

Hello

Previous Post Next Post