अहिले काम नभए पनि आउने बैशाखसम्म तलब छ, हस्पिटल छ, बेड छन्, भेन्टिलेटर छन्, भ्याक्सिन पनि बिस्तारै उपलब्ध छ र पनि केही सय जीवन बचाउन सकिन्छ कि भनेर पुनः केही हप्ता लकडाउन गर्ने निर्णय लिइएको छ । यो आर्थिक रूपमा निकै बोझिलो र क्रिश्मशमा निकै अलोकप्रिय निर्णय पनि हो । तर जीवनको मूल्य पैसा र सस्तो लोकप्रियताभन्दा माथि हुन्छ नै ।
यसो नेपाल सम्झिन्छु
आफू चढ्न जाबो तीन वटा गाड़ीका लागि कतारसँग हात फैलाउनुपर्ने अवस्था छ । मन्त्री, सांसद र कर्मचारीको तलब खुवाउन राजश्वले नधानेर ऋण लिनुपर्छ । महामारी शुरु भएदेखि नै प्रधानमन्त्री आफ्नो कार्यालय गएका छैनन् । उनले एक दुई पल्ट सम्बोधन गरे, सुरुमा कोरोना केही होइन भने, कहिले बेसारको बखान गरे र अन्तिमपल्ट इतिहासले आफू जस्तो महान् नायकलाई मूल्याङ्कन गर्ने भाषण गरे । उनले विश्वमै सबैभन्दा प्रभावकारी काम गरेको भन्न कहिल्यै छुटाएनन् । बालुवाटारमा दिनहुँ जसो बैठक त बस्यो तर केका लागि भन्ने सबैलाई थाहै छ । उनले यसै बीच पार्टी फुटाउने अध्यादेश ल्याए, सांसद अपहरण गरे । विदेशमा फसेका श्रमिकले सरकारी फट्याइँका कारण तेब्बर बढ़ी भाड़ा तिर्न बाध्य हुनुपर्यो । कोरोना बढ्दै गयो । हुँदाहुँदै सरकारले परीक्षणबाटै हात झिक्यो । सक्नेहरू बाँच्ने अवस्था बन्यो । यस्तो महामारीभरि स्पष्ट बहुमत प्राप्त दल र सरकारले तुच्छ राजनैतिक षड्यन्त्र र लेनदेनमा निर्लज्ज समय बितायो । न जागिर गुमाउने मजदुरले कुनै राहत पाए, न व्यवसायीले । देश भगवान भरोसे चलिरह्यो ।
अन्य विश्वलाई जस्तै देशलाई छिटोभन्दा छिटो महामारीबाट उन्मुक्ति चाहिएको छ । अब भ्याक्सिन किन्नुपर्ने छ । अरबौं रुपियाँ यसका लागि चाहिएला । ठूलो जनशक्ति र तैयारी चाहिन्छ । महामारीपछिको आर्थिक पुनर्निर्माणका लागि दिनरात खट्नुपर्ने हुन्छ । यस्तोमा सरकारलाई खबरदारी गर्ने र जिम्मेबार बनाउने निकाय संसद हो, तर व्यक्तिगत स्वार्थका लागि यसको हत्या गरिएको छ । अनावश्यक सबै खर्च कटाएर महामारीबारे सोच्नुपर्ने बेला जनस्वास्थ्यलाई समेत ख्याल नगरी अरबौं रुपियाँ खर्च हुने चुनाव घोषणा भएको छ ।
सामान्यतया विपक्षी दलले चुनावको निर्णयलाई सधैँ स्वागत गर्छन् । तर यतिबेला विषम परिस्थितिका कारण तिनले समेत विरोध गरेको यस्तो खेललाई गुटको गोटी बनेकी राष्ट्रपतिले संसदीय व्यवस्थाको आधारभूत मर्म र मूल्यमान्यताको संरक्षण भन्दै विज्ञप्ति जारी गरिन् ।
लाज, निष्ठा, इमान, वैधता, मानवता सबै गुमाएर व्यक्तिगत सम्बन्ध प्रयोग गर्दै राष्ट्रपतिबाट संसद विघटन गराएका ओली कुन नारा र मुख लिएर चुनावमा जालान् ? यदि अदालतले यो निर्णय उल्ट्यायो भने ओली र राष्ट्रपतिले के गर्लान् ? के पूर्ण बहुमत रहेको नेकपाभित्र ओलीबाहेक अर्को नेतृत्व छैन ? के सिङ्गो पार्टी नालायकहरूको अखडा मात्रै हो ?
एकपल्ट सोध्न मन छ, ओलीजी, जनमतलाई यसरी व्यक्तिगत स्वार्थको जुत्तामुनि कुल्चेर भोटचाहिँ कुन मुखले माग्नुहुन्छ?
नारायण गाउँले