ममतामयी आमा
नमस्कार ! लामो समयको अन्तराल पछि पत्र कोर्दैछु । आरामै छु र
आरामको कामना गर्दछु । तपाईंसँग भेटघाट नभएको पनि झण्डै
४ वर्ष बितेछ । फोनमा त बेला बेलामा समाचार आदानप्रदान
हुन्थ्यो नै तर उही त हो महँगो शुल्क अनि टाढा भएकाले मात्र
हालखबर र सञ्चो विसञ्चोमा सीमित हुन्थ्यो । मनका कुरा
खुलेर गरुँभन्दा पनि गर्नै नपाईने । घरमा कम्प्युटर भए पनि
इन्टरनेट चलाउने समयमा बत्ती नै नहुने ।
आमा ! गत साता बहिनी विजयाले स्काइपमा कुरा गरेकी
थिइन् । बुबा र तपाईंको बैवाहिक वार्षिकोत्सवका फोटो
पठाएकी थिईन् । अनि साँच्चै बुवाको स्वास्थ्य कस्तो छ ?
ब्लडप्रेसरको नियमित औषधि सेवन गर्दै हुनुहुन्छ होला हैन ? सधैं
शारीरिक व्यामाम गर्नुपर्छ । अनि तपाईंको थाइराइडको
समस्याको स्थिति कस्तो छ ? बेलाबखतमा रगत परीक्षण गरी
नियमित औषधि सेवन गर्नुहुनेछ ।
विजयाले भन्दै थिईन्, तपाईँले पनि जागिरबाट अवकाश पाउने
बेला भयो रे । स्वास्थ्य तथा जनसंख्यासम्बन्धी कार्यक्रम,
परिवार नियोजनसम्बन्धी काम गर्ने सँस्थामा भाग लिने
गर्नुहुन्छ रे हैन ? बुवाको क्षेत्र पनि स्वास्थ्य भएको हुँदा
तपाईँले स्वास्थ्यसम्बन्धी धेरै अनुभव सँगाल्नु भएको छ भन्ने
लाग्छ । यो पत्रमा धेरै पहिलेदेखि मेरो दिमागमा खेलेको कुरा
खोल्न खोज्दैछु । सायद यो पत्र पढ्दा तपाईं एकपल्ट झस्कनु
हुन्छ होला छोरीले आमालाई कसरी यस्तो विषयसँग
सम्बन्धित पत्र लेख्न सकेको होला भनेर ।
तर, आमा ! तपाईँ मेरी जन्मदाता मात्र हैन, मेरा लागि
सबैभन्दा कुरा मिल्ने सँगिनी बन्नुभयो । मैले तपाईँमा मातृत्व
सँगै आत्मीय साथीत्व पनि पाउँछु । हुन त म कसैसँग नखोलेका
प्रेम प्रसङ्गका कुरा पनि तपाईंलाई नै खोल्ने गर्थें । पत्रमा
वर्णित विषयसम्बन्धी म आफै नै केही गर्न चाहन्थे,
संघसंस्थालाई झकझकाउँथे, जनचेतना जगाउन प्रयास गर्थें । तर
अहिले म पढाईको क्रममा टाढा रहेकी र तपाईं पनि स्वास्थ्य
क्षेत्रसँग सम्बन्धित हुनुभएको र म पनि चिकित्सक भएको
कारण आज निसंकोच यो विषय निकाल्दैछु । किनभने यो
विषय व्यक्तिगत जीवनसँग सम्बन्धित भए प्रत्यक्ष सरोकार
राख्दछ ।
त्यसैले मेरी आमा साथी यस विषयलाई तपाईंले अन्यथा नलिई
मेरो भावना बुझ्दै यससँग सम्बन्धित विषयमा जनचेतनामुलक
कार्यक्रम सञ्चालन गर्नुहुनेछ र टिनएजरका विद्यार्थीलाई
पनि सचेत गराउनुहुनेछ भन्ने पनि आशा गरेकी छु ।
आमा, आज मैले मत्र कोर्ने प्रसंग अरुबेलाको भन्दा नितान्त
फरक छ । सायद पत्र पढ्दा तपाईँका थुप्रै साथीभाईले मुखामुख
गर्नुहोला, कसैले जिब्रो काट्नु होला त कसैले नाक
खुम्च्याउनुहोला, तर तपाईँले मलाई बुझ्नुहुनेछ भन्ने कुरामा
विश्वास छ । विषय के रहेछ भनी तपाईँलाई कौतुहल उत्पन्न
हुनसक्छ । गहन विषयका रुपमा मैले पुरुषहरुको अस्थायी
जन्मान्तर साधन ढाललाई लिएकी छु । यस विषयमा मैले
बाल्यकालदेखि सुनेका, भोगेका र देखेका प्रसंगलाई जोड्दै छु ।
०००
आमा, मैले यो विषयलाई पत्रमार्फत् यसरी कोर्दिन थिएँ
होला । सायद आज ६ वर्षका बालबालिकाले अमेरिकाका
जस्तो व्यस्त सडकमा पनि हिड्दाहिड्दै उ बेलुन भन्दै बाटोमा
फ्यात्त फ्याँकिएको ढाल नटिपेको भए । नसुनेका घटना
सुन्दा म झसङ्ग भएँ । मेरा आँखाअगाडि अबोध बाल्यकालको घटना नाँच्न थाले ।
दाईको दुई थप्पड
सायद म आठ वर्षकी हुँदी हुँ, दुई कक्षामा पढ्दै थिएँ । उही न
हो बुवाको शुद्ध जागिर, हामी चार–चार सन्तान, कमजोर
आर्थिक अवस्था । अहिलेका बालबालिकाका जस्ता महँगा
गुडीया, गाडी, बल, बन्दुक, भिडियो गेम, आईप्याडजस्ता
खेलौना कहाँ नै हुन्थे र ? खेलौनाका रुपमा कपडाले बनाएका
पुतली अनि बाटोघाटोमा फ्याँकेका खैनीका बट्टा,
तीनतिर प्वाल पार्दै धागो हालेर लट्ठी राखी तराजु
बनाइन्थ्यो । विभिन्न आकारका ढुङ्गाका ढक अनि चौरमा
उम्रेका झारपातका फलफुल र सागपात बनाई पसल
थापिन्थ्यो । साहुजी र ग्राहक बनी किनबेचको अभिनय
गरिन्थ्यो ।
एकदिनको कुरा हो, सायद तपाईँ घरमा हुनुहुन्नथ्यो । बैनी र म
चौरमा साहुनी बनी खेल्दै थियौँ । चौरमा उम्रिएका
थरिथरिका झारपात बटुल्दाबटुल्दै एक्कासी बेलुनजस्तो तर
केही ठूलो आकारको चिज फेला पर्यो । देख्नासाथ दुवै फुरुङ्ग
भयौँ, टिप्नासाथ खुशीले गद्गद् भयौँ ।
बेलुनमा लागेको फोहोर टक्टक्याउदै हामी बेलुन फुक्न के
लागेका थियौँ, उताबाट कड्किएको दाईको सुनियो, ‘के
गर्छन् यी काम नलाग्ने केटाकेटीहरु ! जे पायो त्यही खेलेको छ
।’ उहाँ त रिसले चुर हुनुभयो । कसले टिपेको यस्तो फोहोरी
चीज भन्दै मेरो गालामा दुई थप्पड हान्नुभयो । म ट्वाल्ल परें,
अक्क न बक्क भएँ । टिपेको वस्तु फ्यात्त फ्याँकेर घर फर्किएँ ।
म रोईरहेकी थिएँ, अनि तपाईँले के भयो भनी सोध्नुभयो,
टाउको दुखेको पो हो कि भन्दै सिटामोल खान दिनुभयो ।
तर पनि म केही बोलिन । के बोल्ने ? के–का लागि गाली
रन्किए ? अड्कल गर्नै सक्दिनथेँ । तर सधै मेरो मनमा लागि नै
रह्यो दाईले किन काम नलाग्ने केटाकेटी भन्नुभएको भनी ।
यो घटनापछि मैले फागु पूर्णिमामा पनि बेलुन किन्ने आँट गर्न
सकिन् । अरु सबै बेलुन किन्थे, फुक्थे र पानी भर्थे तर म रङ्ग मात्र
खेल्दथें, अरुले बेलुन खेलौ भन्दा मन छैन भनी टारी दिन्थे ।
चारवर्ष पछि थाहा पाएँ कण्डम हो भनेर
मैले झन्डै चार वर्ष पछि मात्र बेलुनको रहस्य चाल पाएँ । त्यो
मैले टिपेको वस्तु त बेलुन नभएर कन्डम पो रहेछ । ए ! मैले त साँच्चै
टिप्नै नहुने, बच्चाले नाम लिनै नहुने, हेर्ने र खेलाउन नहुने
फोहोरी वस्तु पो टिपेकी रहेछु अनि कसरी फुक्थेँ त मैले । बरा !
दाईले पनि कसरी बुझाउनुहुन्थ्यो त त्यसवेला मलाई । थाहा
पाएपछि त मैले गालाको दुःखाई बिर्सिएँ ।
त्यस समयमा पनि साथीहरुबाट यतिमात्र थाहा भयो – कन्डम
भनेको नराम्रो चिज हो भन्ने कुरा । त्यो त अरुको अगाडि
नाम उच्चारण गर्न नमिल्ने वस्तु रहेछ । मलाई अत्तोपत्तो थिएन
यो के र कुन कामको लागि प्रयोग हुन्छ भन्ने बारेमा ।
मुसुक्क हाँसेर शिक्षक भन्थे– आफैँ पढ है
थाहा होस् पनि कसरी आमा ! विद्यालयमा स्वास्थ्य
विषयबारे प्रजनन् स्वास्थ्य, परिवार नियोजनजस्ता पाठको
पढ्ने पालो आईपुग्ने बित्तिकै शिक्षकहरु नपढाइकन तिमीहरु
आफै पढ भनी मुसुक्क हाँस्दै हिड्नुहुन्थ्यो । तपाईं आफै भन्नु त,
सर मिसहरुले नपढाएको विषय हामी विद्यार्थीहरुले स्वअध्ययन
गरेर कसरी बुझ्न सक्थ्यौँ र त्यसबेला ? कहिलेकाँही यो
विषयमा के रहेछ भन्ने मनमा नउब्जिएको पनि हैन । कक्षामा
सबैका अगाडि पढ्दा पनि साथीभाईहरुले जिस्काउलान् भन्ने
डर थियो । फेरि सर, मिसले पनि गलत अर्थ लगाउनु होला भन्ने
उस्तै पिर , अनि घरमा पढ्दा पनि दाजुभाई, दिदीबहिनीले
देख्लान् भन्ने त्राही–त्राही । मौका हेरेर यसो पाना
पल्टायो, अनि कसैले खोकेको सुन्यो कि हत्त न पत्त अर्कै
पाना पल्टाउने गरिन्थ्यो ।
दिइएको पाठ नपढी पनि सुखै थिएन । जहिले पनि जाँचमा
अनिवार्य एक प्रश्न प्रजननसम्बन्धी सोधिन्थ्यो । कम्ता
मुस्किल परेको हैन परीक्षामा लेख्न पनि । त्यो विषय पढी
सकाउन आमा, दाई, दिदी, बहिनी कोही नभएको मौका
छोप्नुपथ्र्यो । एसएलसीसम्म पनि म मा प्रजनन स्वास्थ्य,
परिवार नियोजन भनेको लाजैमर्दो कुरा हो भन्ने गलत धारणा
बसेको थियो ।
ट्वाइलेटभरि कण्डम, साथीका बुढाबुढी लाजले भुतुक्क
आमा ! फेरि म तपाईंलाई प्रजनन र कन्डमबारे अर्को कहानी
सुनाउँछु । मैले आईएस्सी पढ्दै गर्दा झण्डै छ महिनाअगाडि
विवाह गरेकी हितैषी साथीले फोन गरिन् । म उनको
विवाहमा परीक्षाका कारण उपस्थित हुन सकेकी थिइनँ ।
उनले मलाई आफ्नो नयाँ घर देखाउन र आफ्ना घरका सदस्यसँग
परिचय गराउन बोलाईन् । म पनि शनिवारको दिन पारेर उनको
घर पुगेँ ।
तर संयोगबश त्यो दिन उनको ट्वाइलेट जाम भएको रहेछ । घरका
सबै सदस्य जाम खोल्न व्यस्त थिए । कोही ट्वाईलेट खोल्ने
मान्छे खोज्न गए त कोही पानीको व्यवस्था गर्दै थिए । घरमा
ठूलै हल्लाखल्ला मच्चिएको थियो । कामदार भेला भए र
वरिपरि नियाले । ती कामदारहरुले ट्वाईलेट खोलेरै छाडे ।
ट्वाईलेट त रबरका तिनै आतङ्कित कन्डमले पो भरिएको रहेछ ।
उपस्थित सबैजना छक्क, अक्क न बक्क र दिक्क देखिन्थे । घरमा
एकजोडी छोरा बुहारीबाहेक सबै अविवाहित, अनि डेरामा
बसेका उमेरदायी केटाकेटी र पचास नाघिसकेका । घरबेटी
बाआमाको अगाडि बिचरा ! ती मेरी साथी र उनका
श्रीमान् लाजले भुतुक्क भए । धेरै दिनसम्म आमाबुवाको आमुन्ने
सामुन्नेपर्नै सकेनौं भन्थे ।
तपाईंलाई थाहै होला यो प्रसङ्गका बेला म चिकित्सा
विषयको पढाई शुरु गर्दै थिएँ । अब भने मलाई यौन र कन्डमका
बारेमा धेरै बुझिसकेकी थिएँ । त्यसैले मैले मेरी साथीलाई
गाली गर्न थालें । आफू र आफ्ना घरमा बस्नेबाट गल्ती हुन गए
होस गराउने तिम्रो काम हो, किन चुप बस्यौ भनी सोधें ।
उनीहरुको कुरा के परेछ भने सुनसान र एकान्त ठाउँमा
उनीहरुको घर, फोहोर फ्याँक्ने ठाउँको उचित व्यवस्थाको
अभाव, भर्खरै बैवाहिक जिवनमा गाँसिएका हँुदा परिवार
नियोजनका स्थायी साधन प्रयोग गर्न अलि मिलेनछ । अब के
गर्ने भनी उनीहरुले कन्डमको प्रयोग गर्न थालेछन् । अब कता
फ्याँक्ने, घरमा अरुले देखे लाज हुने भन्ने ठानेर सबैभन्दा गोप्य
ठाउँका रुपमा ट्वाईलेट देखेछन् ।
सुरु–सुरुमा त राम्ररी नै फ्लस भएछ । पछि त्यही त हो रबरको
चिज, पानी प्रशस्त नभएको र सजिलै कुहिने नभएकाले ट्वाईलेट
जाम हुन पुगेछ । म उनीहरुको घटना सुनी ट्वाल्ल परेँ । सम्झेँ,
साँच्चै रेडियो, टीभी, पत्रपत्रिकामा हेर्नुहोस् त जताततै
कन्डमको बारेमा जानकारी पाईने तर यसको उचित प्रयोग,
सही विसर्जन र व्यवस्थापनको बारेमा कुनै जानकारी नदिईने
। किन यस्तो भईरहेछ, किन गहिरिएर नसोचिएको हो ? साँच्चै
गल्ती त हामीबाट नै भएको रहेछ, कुनै पनि विषयको बारेमा
जानकारी दिँदा त्यसको बारेमा विस्तारमा ज्ञान दिनुपर्ने
हो । त्यसैले आमा, तपाईंहरुले सञ्चालन गर्ने जनचेतनामुलक
कार्यक्रममा यस विषयलाई पनि उठान गर्नुहुनेछ भन्ने आशा
गरेकी छु ।
कुनैपनि सामानको उत्पादन त्यसको आवश्यकताले गर्छ ।
आवश्यकता महसूस गरेपछि वस्तुको व्यवस्थापनबारे पनि
सोचिनु पर्छ । सामानको उत्पादन परिचालन र व्यवस्थापन
गर्न सकिएन भने त्यसको औचित्यको मूल्य रहन्न आमा ।
पैसा खस्यो कण्डममा, टिप्नै लाज लाग्यो
कन्डमले संसार पिरेको छ, अर्को प्रसङ्ग उठाउँछु । बैनी विजया
अध्ययनको सिलसिलामा लन्डन पुगेकी थिईन् । त्यहाँ त मानव
अधिकार, जनावर अधिकार आदि भएको अनुशासित,
प्रदुषणरहित, सभ्य अति सुन्दर सहर लण्डनको जनजिवन अत्यन्त
व्यस्त देखिन्छ रे । सडक, पार्क, होटल, ट्वाईलेट कतै पनि
फोहोरको त कुरै छोडौं सानो कागजको टुक्रासम्मपनि
भेटिदैन थियो रे । यौन स्वतन्त्रताको मुलुक भनिए पनि त्यहाँ
बलात्कारका घटना सुनिदैनन् रे । संसारमा यहाँ जति सभ्य
मानिस कहीँ नहोलान् भन्ने लाग्दैथ्यो रे । उनलाई यत्तिकैमा
एउटा घटनाले छक्क पारेछ ।
मेरी बहिनी दाजुसँगै घुम्न गएकी रहिछन् । डुल्दाडुल्दै थकित
भएका उनीहरु दुवैले चिसो खाने विचार गरेछन् । यसो पैसा
तिर्न लागेको त पैसा भुईंमा खसेछ । पैसा उठाउन खोज्दा त
उनी छक्क परिछन् । पैसा त बाटोमा फ्यात्त फ्याँकिएको
कन्डमको छेउमै झरेछ । पैसा टिपौं कि नटिपौं भनी दाई
बहिनी दुवै दोधारमा परेछन् । दाईले के ठान्नुहोला भन्ने लागेर
उनले त्यो झरेको पैसाको माँया मारिछन् । पुनः ब्यागबाट
अर्को पैसा झिकी पैसा तिरिछन् ।
अस्पतालदेखि मन्दिर परिसरसम्म कण्डम
स्नेही आमा ! यी घटनाले गर्दा मेरो दिमागमा कन्डमकै भूत
चलेको थियो । मैले यसपछि हिँड्दा, डुल्दा, विद्यालय जाँदा,
बाटोमा नियालेर हेर्न थालें । बाटोे, गल्ली, खाल्डो,
हस्पिटल जताततै खुलम्खुल्ला फ्याकिएका कन्डम देखिनथाले
। सहरदेखि गाउँसम्म जताततै अव्यवस्थित रुपमा फ्याँकिएका
वेवारिसे रबरका खोल । हुँदाहुँदा हस्पिटल वरपर, पिकनिक
स्थल, विद्यालय–कलेजका ट्वाईलेटदेखि लिएर मन्दिर परिसर
वरपरसम्म पनि । अलि अध्याँरो, ओसिलो र खाल्डाखुल्डीको
त कुरै छोड्नुहोस् ।
गाउँको सन्दर्भमा भने अलि फरक पाएँ । घरका र बाटाका
वरपर विरलै कन्डम देखिन्थे । तर घाँसपात काट्न जाँदा,
कान्लाकुन्लीतिर, दाउरा लिन जाँदा जङ्गलतिर
फ्याँकिएका कन्डम देखेर दिक्क मान्थें । सायद,
फोहोरमैलाको उचित व्यवस्थापन नहुँदा मानिसले लाज र डरले
कसैले नदेख्ने गरी फुत्त डाँडाबाट फ्याँकिएको हुनसक्छ ।
कहिले कहिले त तोतेबोली नफुटेका बच्चाहरुले बेलुन मानेर
होला कन्डम नै फुकेको पनि देखियो । तपाईं आफै भन्नुस् त
आमा, त्यसरी फ्याँकिएका, आफैमा प्रदुषित, जथाभावी
प्रयोग गरिएका, सडेका, दुर्गन्धित कन्डम स्वास्थ्यको
दृष्टिकोणले कति हानिकारक छन् ?
यी घटनापश्चात् मैले जता जुन देशमा गएपनि कन्डमको सही
विसर्जन र प्रयोगप्रति मानिस कत्तिको सचेत छन् भनी
खोजी गर्न थालेँ । यसै सन्दर्भमा म मित्रराष्ट्र चीनमा
अध्ययनको चार वर्षे लामो अन्तरालमा पनि बाटोघाटो,
कुनाकाप्चामा नियाल्न थालेँ । मेरा विचारमा मानिसहरु
कति सभ्य छन् भन्ने कुरा कन्डमको प्रयोग र व्यवस्थापनले पनि
जनाउँछ ।
समयको दौरानमा मैले पार्क, बगैंचा, ट्वाईलेट, स्कुल,
क्याम्पसको कुना काप्चामा हेर्न थालें । तर कतै पनि केही
फोहोर देखिन । मैले सोचेँ, हैन, फोहोरसँगै कन्डमका बारेमा
पनि चिनीयाँहरु अत्यन्तै सभ्य र अनुशासित रहेछन् । मेरो मन
मस्तिष्कमा उनीहरु प्रति अत्यन्त सम्मान उब्जियो ।
छातामै कण्डम टाँसिएर आयो
एक दिनको कुरा हो, म मेरो शोधपत्रको प्रस्तुति सकेर
दीक्षान्त समारोहका लागि आवश्यक कार्यपत्र र फर्म लिएर
दौडादौड गर्दै थिएँ । निश्चित समयको घेरावन्दीका कारण
मलाई सास फेर्नेसम्म फुर्सत थिएन । बाहिर पानी परिरहेको
थियो । सम्पूर्ण कागजपत्र बुझाउन अफिस जानुथियो । एक
हातमा कागजपत्र र अर्को हातमा छाता समाउँदै दौडिन
थालेँ । अनायास म चिप्लिएर भुँइमा लडें । हतारमा म
दुःखाईको वास्ता नगरिकनै उठ्न खोजें । उठ्दा त मेरो
छातासँगै प्लाष्टिकजस्तो वस्तु टाँसीएर आयो । म त्यसलाई
टक्टक्याउन लागें । त्यो त त्यही कन्डम पो रहेछ । मेरो
दिमागमा फेरी उही वाल्यकालदेखिका घटनाहरु नाच्न थाले ।
चिनियाप्रतिको मेरो सम्मान, छापपनि चकनाचुर भयो । मैले
यो घटना मेरा सहपाठीलाई सुनाएँ । उनीहरु भन्दै थिए,
‘चिनीयाँहरु यस विषयमा धेरै सभ्य, साथी तिमी मित्रराष्ट्र
भारत गयौ भने त आँखामा केही नदेखिने चश्मा किनेर लगाउनु
जस्तो पो हुन्छ तिमी गयौ भने बाटोमा केही पनि नदेखेको
जसोगरी हिड्नु है’ । यो सुनेर म तीनछक परें ।
आमा !, कन्डमबारे अन्य घटना पनि प्रस्तुत गर्न सकिन्छ तर
अहिले म रोक्न चाहन्छु, अर्को वर्ष नेपाल फर्किएपछि
मित्रराष्ट्र भारत घुम्न जाने योजनाा गरेकी छु । त्यसपछि
त्यहाँको प्रसङ्ग फेरि जोडौंला ।
यस्ता प्रसङ्गबाट के बुझिन्छ भने सबैले यौनलाई मानिसमा
उत्पन्न हुने प्राकृतिक आवश्यकताका रुपमा लिने गरेका छन् ।
स्वास्थ्यको दृष्टिकोणबाट हेर्ने हो भने पनि यो एउटा जैविक
आवश्यकता हो भने अर्कोतर्फ सृष्टिलाई निरन्तरता दिने
माध्यम पनि । हामी भोक लागेपछि खाना खान्छौ, भोक
मेट्छौं, पाचन प्रकृया, दिसापिसाबका रुपमा शरीर बाहिर
फ्याक्छौं । तर हामी दिसा, पिसाब सबैका अगाडि
खुलमखल्ला गर्न सक्छौं र ? पक्कै पनि सक्दैनौं । चेतनशील
मानिसले बच्चा र अशक्त अवस्थामा बाहेक जथाभावी
फोहोर गर्न सक्तैन । दिसापिसाबका लागि उसले ट्वाईलेटको
खोजी गर्छ र मलत्यागपछि फ्लस् गर्छ । दिसापिसाबलाई
जताततै फ्यात्त फ्याँक्न हुँदैन भन्ने ज्ञान उसमा छ । ठिक
त्यस्तै हो कन्डम पनि, प्रयोग गरीसकेपछि सही टुङ्गामा
त्यसलाई विसर्जन गर्ने ज्ञान हुनपर्छ ।
यसकारण आशावादी छु आमा
यसैले आमा, आज म यो पत्रका माध्यमबाट तपाईंहरुले सञ्चालन
गर्ने हरेक स्वास्थ्य कार्यक्रम र विद्यालयमा यो विषयलाई
उठान गरिदिनुहुन र सचेतना भरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।
सभ्य र अनुशासित समाज सृजनाका लागि तपाईंलगायत
सम्पूर्ण वुद्धिजीवीवर्ग, शिक्षक, विद्यार्थी,नागरिक,
कर्मचारीलगायत राजनीतिकर्मी सबैजनाले आ–आफ्नो
तर्फबाट सक्दो प्रयास गर्नु नितान्त आवश्यक छ । रेडियो,
टी.भी., पत्रपत्रिका, सिनेमाहल जस्ता सञ्चारका
जल्दाबल्दा माध्यमले पनि यसविषयको उठान गर्दै कहिले,
कहाँ, किन र कसरी प्रयोग गर्ने र प्रयोगपछि के, कहाँ, कसरी
विसर्जन गर्नेबारे ज्ञान दिनु ढिला भईसकेकाले उचित
व्यवस्थापनका लागि पहल गर्नेछन् भन्नेबारे म आशावादी छु ।
पत्रमा कति लेखुँ, अन्तमा आमादाजु, भाउजु, दिदी, भिनाजु
सबैलाई मेरो नमस्कार अनि सम्झना सुनाईदिनुहुनेछ । म पनि
एमडी पूरा गरेपश्चात् नेपाल फर्किएपछि तपाईंहरुले सञ्चालन
गर्ने हरेक जनचेतनामूलक कार्यक्रमहरुमा सक्रिय भूमिका
निर्वाह गर्नेछु । स्वास्थ्यकर्मी भएका नाताले कन्डमको
प्रयोग र व्यवस्थापनबारे स्पष्ट पारिदिनेछु । हवस् त आमा, यो
पत्र यही टुङ्गाउन चाहन्छु ।
आत्मीय छोरी
डा. जया सत्याल
थियानजीन, चीन