यसअघि कामना गरिएको तर कल्पना नगरिएको दृश्य देख्न पाइएको छ। हिजो कानुन र इमान् चपाउनेहरू आज कागज चपाउँदै छन्। जे भएको छ, जति भएको छ र जसरी भएको छ त्यो पनि ठूलो क्रान्तिजस्तै भएको छ। आफूसहित आफ्नालाई बचाउने टुप्पोहरूको ढाड भाँचिएर आफ्नै टाउको लुकाउन मुश्किल परेको देखिन्छ। कानुनका छिद्र समाएर, थुपारेको सम्पत्ति भजाएर, प्रमाणहरू चपाएर कति उम्किएलान्, कति दृश्यमैं नआउलान्। तर, अभूतपूर्व रूपमा तिनको अस्तित्वमा ठूलो भ्वाङ् परेको छ। यही रूपमा तिनले जनताको रगत चुस्ने र जनताले चुपचाप चुसिएर बस्ने अवस्था अब छैन।
पहिले यो देखाउने दाँत हो भनियो। माथिकालाई छुने होइन, तलका एक दुई प्यादा र मोहरालाई समाए जस्तो गर्ने हो भनियो, विपक्षीलाई फसाउने षड्यन्त्र हो आफ्नालाई त कसरी छुन्छ र? भनियो तर जब सबै विषयान्तरका प्रयास र दाबी फेल हुँदै गए तब अमेरिकाले दबाब दिएकाले यस्तो भएको हो भन्ने नयाँ ज्ञान बाँडिदै छ। केही हुन्छ कि भन्ने आशा जागेका बेला होइन, हामीले केही गर्न सक्ने होइन, अमेरिकाले गरिदिने हो भन्ने भाष्य पेलिँदै छ। यो अन्य मुद्दा र काण्डका अभियुक्तहरूको मुटुमा ढ्याङ्ग्रो बज्न नदिने प्रयास हो। अमेरिकाले भुटानी शरणार्थीमा पो चासो देखायो र, वाइडबड़ीदेखि सेक्युरिटी प्रेससम्म उसलाई के चासो र? त्यसैले चिन्ता गर्न पर्दैन भन्ने आश्वासन हो। काम गर्न खोज्नेलाई निरुत्साहन र भ्रष्टलाई प्रोत्साहन गर्ने यस्तो भाष्य सजिलै बिक्छ। तीन वर्षअघि अख्तियार पुगेका 'पीड़ित', सबै कुरा थाहा भएर पनि चुपचाप बसेका ओली, अमेरिकाका प्रिय भनिने देउबा र तिनका हनुमान् बालकृष्ण खाँड कसैलाई पनि अमेरिकाले दबाब नदिएर कसरी नारायणकाजीलाई मात्रै दिएछ?
यत्ति हामीले पनि बुझ्नुपर्छ, ३०-३२ सिटको एउटा दलका प्रधानमन्त्रीले गर्न सक्ने यत्ति नै हो। १५ खर्बको हाम्रो बजेट छ, प्रगति चाहिँ हजार खर्वको अमेरिका जस्तो खोजेर भेटिन्न।
सरकार टिकेन भने यत्ति पनि नहुन सक्छ। केही नहुनुभन्दा अलिकति हुनु राम्रो हो। ८०-९० सिटका अन्य दलले यही अनुपातमा अरू फाइल खोलेर सफाइ गर्ने हो भने राजनीति धेरै हदसम्म सफा हुन्छ। भ्रष्टहरू नयाँ होइनन्, सिकारु होइनन्। तिनले प्रशस्त प्रमाण छोडेर भ्रष्टाचार गरेका हुँदैनन्। कतिलाई थाहा पाएर, अनुमान गरेर पनि समाउन सकिन्न। अनि भ्रष्ट करार गर्ने सरकारले होइन, अदालतले हो, त्यहाँ फेरि यिनकै दूतहरू हुनसक्छन्।
तर खुशी र आशाको कुरो के छ भने, तिनको नकाब उत्रिसकेको छ। अन्तिम र निर्णायक धक्का हाम्रो हातमा, जनताको कोर्टमा पुगिसकेको छ! हामी नै दास बाँचिरहन चाह्यौँ भने त के लाग्यो र?