ललितपुर महानगरपालिका ३ की सरस्वती प्रधान आइतबार विहानै १० बज्दा नबज्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ष्ठान (नास्ट) मा पुगिन् ।
हातको किटाणु नष्ट गर्ने स्यानिटाइजर बनाउने तालिम लिन आएकी उनले स्यानिटाइजर बनाउन रक्सी, हाइड्रोजन पाराअक्साइड, ग्लिसेरिनको मात्रा कति राख्ने भनेर टिपोट गरिन् ।
सरस्वतीसँगै वडा नम्बर ३ बाट माधुरी झा पराजुली पनि यो तालिममा सहभागी छिन् । नास्टले ललितपुर महानगरपालिकाको २९ वटै वडाका २÷२ जना प्रतिनिधिलाई तालिम दिएको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभरी फैलिएपछि नेपालमा यसको स्रंक्रमण रोक्न विशेष सतर्कता अपनाउन थालिएको छ । बजारमा स्यानिटाइजर र मास्कको अभाव हुन थालेपछि ललितपुरमहानगरपालिकाले घरेलु रक्सीबाट स्यानिटाइजर उत्पादन गर्न नास्टसँग सहकार्य गरी तालिम सञ्चालन गरेको हो ।
एक हप्ताअघि नास्टका वैज्ञानिकहरुले घरेलु रक्सीबाट पनि स्यानिटाइजर बनाउन सकिने निश्कर्ष निकालेका थिए । तालिममा सहभागी महिलाले अब टोलटोलमा गई अरुलाई स्यानिटाइजर बनाउन सिकाउनुपर्नेछ।