दिपक एमसीको कविता, कर लगाउन छुटेका क्षेत्रहरू


कर लगाउन छुटेका क्षेत्रहरू
                   -दिपक एम.सी.

ए सरकार कर लगाउ
सबैमा कर लगाइसके भनेका हौला
तर अझै बाकी छन 
कर लगाउनुपर्ने क्षेत्रहरु!

मान्छे खुशी हुदा मुस्कुराउदा 
पनि कर तिर्ने बनाउ
फेरि मान्छे कर तिर्नु पर्छ भनी हास्न छोड्लान!
दुखी भएको अभिनय गर्लान,
दुखी हुदा पनि कर लगाउ
बरु भन दुखी भएमा पर्यटनमा धक्का लाग्छ
तर कर उठाएरै छोड!

मान्छेले खाना खादा बित्तिकै कर तिर्ने बनाउ
कर राम्रै उठ्ने छ!
हिसाब गर त धनीले कति छाक खान्छन?
उठ्ने बित्तिकै ब्रेकफास्ट 
अनि लन्च,
दिउसो स्न्याक्स, 
साझ डिनर राति सपर...
अनि
के के हो के के!
फेरि गरिबले दिनमा एक छाक मात्र खालान्
घाटा हुन्छ
दुई छाक किन नखाको भनी दण्डित गर
फाइन तिराउ
पैसा उठाउन नछोड!
अनि हुदाखाने
नत्र भोकभोकै बस्नेलाई के गर्ने?
ओहो कसरी कर उठाउने ?
छुट्लान है यिनीहरू!
ए यसो गर न
स्वास्थको तथ्यांकमा कुपोषितको सङ्ख्या 
बढी देखिन्छ 
अन्तर्राष्ट्रिय स्तरमा देशको बेइज्जत गराउने भन्दै
तिनीहरुबाट पैसा  उठाउ!
तर छोड्दै नछोड।

बाटोमा बसेर भिख माग्नेहरुलाई
किन भिख मागेको भनेर रकम असुल!
(बरु तिमी बिदेशीसँग भिख माग्न नहिच्किचाउ!)
नमागी बसेमा किन खाली बसेको भनेर असुल
तर छोड्दै नछोड।

बस्नेसँग उठाउ
उठ्ने सँग झन छोड्दै नछोड!
हिड्नेलाई कर लगाउ
नहिड्नेलाई किन बसेको भनी उठाउ!
दौड्नेलाई झन धेरै लगाउ!
पौड्नेलाई पनि उठाउ!
नपौड्नेलाई किन छाड्ने?
उनीहरूबाट पनि उठाउ!
तर कसैलाई नछाड!

नागरिकले फेर्ने सासमा कर लगाउ
सबैभन्दा बढी कर उठ्ने छ!
सास नफेरी मान्छे १ मिनेट 
पनि बाच्न सक्दैन!
हिसाब गर त
कति मोटो रकम सङ्कलन हुन्छ होला?
अनि बिदेशमा सास नफेर्ने भएर
रातो काठको बाकसमा सुतेर आउने हरुलाई
किन सास नफेरेको भनेर कर उठाउ!
आफन्तले आँसु झार्लान
आँसुको हिसाब गर
थोपाको सङ्ख्या गन
किन आँसु झारेको भन
त्यसमा पनि कर लगाउ
मोटो रकम जम्मा हुनेछ!
(बिचरा उनीहरू कति शोकमा हुन्छन् 
आफन्तको बियोगमा!)
उनीहरु रोलान शोकमा बिलाप गर्दै
डाको छोडेर रोलान्
किन रोको, हल्ला भयो भन
त्यसमा पनि कर लगाउ!
आफ्नो जवान छोरो
जसले पाल्नेछ भनेका बुढा बुवा
"आज म जानुपर्ने बेला उ गयो"
"उल्टो भयो" भन्दै रोलान्
तिनैले छोराको किरिया बस्लान
किरिया बसेको
कर उठाउ
तर छोड्दै नछोड।


कलिलो उमेरमै बिधवा हुँदै गरेकी
नारीको सिउदोको सिंदुर पखाल्दा कर लगाउ!
(ए साच्ची मैले बल्ल सम्झे
सिउदोमा सिदुर लगाउने सबै नारीलाई कर लगाउ
अनि सिंदुर नलगाउने लाई पनि।)
बिचरा ती बिधवाले रङिन कपडा लगाउने छैनन् अब
त्यसैले अब रङ्गबिहिनताको कर लगाउ
उनको सादा जीवनमा लगाउ
उनको एक्लो जीवनमा लगाउ!

आफ्नो बाबाको बियोगमा टड्पिने
टुहुराटुहुरीलाई उनीहरूले देख्ने सपनामा कर लगाउ!
बुबाको अभावमा भोग्ने दुखमा कर लगाउ!
जतिपटक आफ्नो आमालाई
"खोइ मेरो बुवा?" भनी प्रश्न सोध्छन् 
त्यति कर लगाउ!
अनि बच्चाको प्रश्नले
जति पटक ती नारी भक्कान्छिन्
त्यति कर लगाउ!
जे गरेर हुन्छ, जसरी हुन्छ
कर उठाउ!
ज-जसले जसरी खर्च गरोस
जसले भुँडी भरोस
त्यता मतलब नगर 
तर कर उठाएरै छोड
त्यतिकै छाड्दै नछाड!

कवि परिचय:

झिम्रुक गाउपालिका २, बादिकोट, प्युठानमा जन्मिनुभएका दीपक एम सी पेशाले माध्यमिक तहका स्थायी अङ्ग्रेजी शिक्षक हुनुहुन्छ। उहा हाल गौमुखी मा बि, ठुलाबेसी प्युठानमा अध्यापनरत गर्नुहुन्छ। साहित्य लेखनमा क्रियाशील उहाले विभिन्न गजल, मुक्तक, कविता तथा कथाहरु लेख्नुहुन्छ। 

Post a Comment

Hello

Previous Post Next Post