शरद पोख्रेलको कविता गुनासो


गुनासो - कविता


बोल्नेको त पिठो पनि बिक्दो रैछ 
मैले नबोलेरै चामल कसरी बेच्नु?

बा, किन सिकाएनौ मलाई 
संसारकै रमाइलो खेल, खुट्टा तान्ने खेल हो भनेर 
हेर त, आज दुनियाँ यसैमा कति रमाइरहेछ? 

बा, किन भनेनौ मलाई 
सोझो औँलाले घ्यू नआए बाङ्गो गराएस् भनेर 
किन सुनाएनौ भिडका कथा 
किन पढाएनौ मारपिटका कहानी 
किन सुझाएनौ चोरबाटो 
र रङ्गिन साँझका गल्लीहरुको सुन्दरता 
हेर त आज तिनकै वरिपरि 
खुशीले भिख मागिरहेको ?

किन हिडेनौ तिमी सिंहदरबारको वरिपरि 
किन ढोगेनौँ ति सहरबाट आएका 
सुकिला मुकिलाहरुलाई 
किन पठाएनौ मलाई ती जुलुसहरुमा 
माटोले बनेको आमाको छातीमा ढुङ्गा हान्न 
झन्डाले बनेको तिम्रो टोपीमा मसाल झोस्न 
हेर न बा, 
आज तिनै तिमीले थुकिदिएका अनुहारहरु 
हाम्रो शीर माथी बसेर उपहास बिस्ट्याइरहेछन्। 

बा किन सिकाउँदै सिकाएनौ तिमीले 
भट्टी छिरेर बहादुर बन्न 
अबलाहरूलाई लछारपछार गरी 
मर्द कहलाउन? 

किन पढाएनौ मलाई धनको बर्णमाला 
किन चिनाएनौ घमन्डका अक्षरहरू 
किन सिकाएनौ घातका जोड घटाउहरू 
किन हिँडाएनौ स्वार्थको गोेरेटो 
मलाई साँच्चै सिकाउनु नै पर्ने यी कुरा  
किन सिकाएनौ बा?

साँच्चै बा !
तिमी फेरिएनौ 
जमाना फेरियो अब।


Post a Comment

Hello

Previous Post Next Post